नियम १५
इजाजतपत्र (लाइसेन्स) को लगत कट्टा
(१) कुनै हातहतियार हराएमा वा चोरिएमा वा बिग्री काम नलाग्ने भएमा वा अन्य कुनै कारणबाट नासिएमा पैंतीस दिनभित्र सो कुराको सूचना त्यस्तो हातहतियारको धनी इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिई त्यस्तो हातहतियारको लगत कट्टा गराउनु पर्छ। हातहतियार हराएमा वा चोरिएमा भने नजिकको प्रहरी ठानामा यथाशीघ्र सात दिन भित्र सूचना दिन अनिवार्य हुनेछ।

तर बिग्रेको हातहतियार मर्मत गरी फेरि काम लाग्ने भएमा वा हराएको वा चोरिएको हातहतियार फेला परेमा यस नियमावली बमोजिम पुनः इजाजतपत्र (लाइसेन्स) लिनु पर्नेछ।

(२) हातहतियार खरखजाना बिक्रि गर्ने, उत्पादन गरी बिक्री गर्ने वा मर्मत गर्ने इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले बिक्री गर्ने, उत्पादन गरी बिक्री गर्ने वा मर्मत गर्ने काम छाड्न चाहेमा निजले त्यस्तो सूचना प्रमुख जिल्ला अधिकारीलाई दिई त्यसको लगत कट्टा गराउनु पर्छ।

(३) नेपाल सरकारले जफत गरेको वा अन्य कुनै प्रकारले सरकार लागेको हातहतियार खरखजानाको लगत स्वतः कट्टा गरिनेछ।

(४) यस नियमावली बमोजिम दर्ता नगराएको, राख्ने इजाजतपत्र (लाइसेन्स) नलिइएको वा दर्ता गराई राखे इजाजतपत्र (लाइसेन्स) लिई सकेकोमा पनि यस नियमावली बमोजिम नवीकरण नगराईएको हातहतियार खरखजानाको लगत स्वतः कट्टा गरिनेछ र त्यस्तो हात हतियार खरखजाना तुरुन्त प्रहरी ठानामा बुझाउनु पर्नेछ।